मनाङमा रास्वपाको ‘गाडी नाटक’: उम्मेदवारी दर्ता नहुनु संयोग कि रणनीतिक षडयन्त्र?

माघ ७, २०८२

@एस.आचार्य चामे, मनाङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मनाङमा उम्मेदवारी दर्ता गर्न नसकेको घटना अहिले चर्चा र शंकाको घेरामा परेको छ। गाडी नपाएको र बाटोमा बिग्रिएको भन्दै उम्मेदवार अनिल गुरुङ राति ९ बजे मात्र निर्वाचन कार्यालय पुग्नुलाई स्थानीय स्तरमा "जनताको सहानुभूति बटुल्ने र भित्री रूपमा अर्कैलाई सघाउने नियोजित प्रपञ्च" का रूपमा हेरिएको छ। समय गुजारेर 'सेन्टिमेन्ट' कार्ड खेल्ने दाउ! निर्वाचन आयोगले दिएको साँझ ५ बजेसम्मको पर्याप्त समय हुँदाहुँदै राति ९ बजे मात्र कार्यालय पुग्नुले धेरै प्रश्न उब्जाएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, यो रास्वपाको कुनै कमजोरी नभई 'तारा' चिन्ह (हाम्रो नेपाली पार्टी) का उम्मेदवारलाई सघाउने एक सुनियोजित बाहना मात्र हो। आफू उम्मेदवार नहुँदा आफ्ना मतदातालाई अर्को चिन्हमा सुरक्षित स्थानान्तरण गर्न सजिलो हुने र 'हामीले त कोसिस गरेका थियौँ तर भाग्यले साथ दिएन' भन्दै जनताको सेन्टिमेन्ट लिन यो नाटक मञ्चन गरिएको आरोप विपक्षीहरूले लगाएका छन्। शंकास्पद बहानाहरूको चाङ उम्मेदवार गुरुङले प्रस्तुत गरेका तर्कहरूलाई धेरैले पत्याउन सकेका छैनन्: * टिकट ढिलो पाएको दाबी: अन्य जिल्लामा समयमै टिकट वितरण हुँदा मनाङमा मात्र किन ढिलो भयो? * गाडीको समस्या: एउटा राष्ट्रिय दलको उम्मेदवारले दुई दिनसम्म एउटा गाडीको व्यवस्था गर्न नसक्नु र रिजर्भ गरेको गाडी पनि समयमा नआउनुलाई अर्थपूर्ण मानिएको छ। * बाटोको अवरोध: बाटोमा गाडी बिग्रिएको भनिए पनि त्यसको कुनै ठोस प्रमाण वा विकल्प नखोजिनुले नियतमाथि शंका उब्जाएको छ। भित्री सहमति र 'तारा' सँगको साँठगाँठ स्रोतका अनुसार मनाङमा रास्वपा र 'तारा' चिन्ह बोकेको समूहबीच भित्री गठबन्धन भइसकेको छ। आफ्ना कार्यकर्ता र मतदातालाई सिधै अर्को दलमा भोट हाल भन्न गाह्रो हुने भएपछि, "प्राविधिक कारणले दर्ता हुन सकेन" भन्ने बहाना बनाइएको चर्चा चियापसलदेखि चौतारासम्म चल्न थालेको छ। "यो सरासर जनताको आँखामा छारो हाल्ने काम हो। गाडी नपाएर ढिलो भएको भन्ने कथा बनाएर मनाङे जनतालाई मुर्ख बनाउन खोजिएको छ। यसको मुख्य उद्देश्य भनेकै भित्रभित्रै अर्को शक्तिलाई सघाउनु हो," स्थानीय एक राजनीतिक कार्यकर्ताले टिप्पणी गरे। निष्कर्ष ५ बजेको समय सीमा थाहा हुँदाहुँदै ४ घण्टा ढिलो पुग्नुले रास्वपा मनाङमा चुनाव लड्न नै नचाहेको प्रस्ट हुन्छ। यो घटनाले रास्वपाको 'नयाँ राजनीति' माथि पनि नैतिक प्रश्न खडा गरिदिएको छ। अब मनाङमा रास्वपाका भोटहरू कता जान्छन्, त्यसले नै यो 'नाटक' को पर्दाफास गर्नेछ।

सम्पर्कमा रहनुहोस्