माघ ४, २०८२
@सन्दिप मल्ल काठमाडौँ –
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले औपचारिक रूपमा पदबाट राजीनामा दिएका छन्। राजीनामासम्बन्धी पत्र सार्वजनिक भएपछि राष्ट्रिय राजनीतिमा नयाँ हलचल पैदा भएको छ।उपलब्ध राजीनामा पत्रअनुसार बालेन शाहले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्थाअनुसार नगर प्रमुख पदबाट स्वेच्छिक राजीनामा दिएको उल्लेख गरेका छन्। पत्रमा मिति २०८२/१०/०४ देखि लागू हुने गरी राजीनामा पेश गरिएको जनाइएको छ।राजीनामा पत्रमा बालेन शाहले आफ्नो कार्यकालमा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा इमान्दारितापूर्वक काम गर्ने प्रयास गरेको उल्लेख गर्दै आगामी दिनमा महानगरको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।बालेन शाहको राजीनामासँगै उनी, बलान र सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्न सक्ने सम्भावनाबारे राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। साथै संसद पुनःस्थापनासम्बन्धी बहस पनि पुनः सतहमा आएको छ।यद्यपि बालेन शाह, बलान, सुदन गुरुङ तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट यस विषयमा औपचारिक घोषणा भने भइसकेको छैन। तर विश्लेषकहरूका अनुसार बालेन शाहको राजीनामाले नयाँ राजनीतिक समीकरण बन्ने संकेत गरेको छ।राजनीतिक विश्लेषकहरू भन्छन्, बालेन शाहजस्ता लोकप्रिय स्थानीय तहका नेतृत्वको राजीनामाले स्वतन्त्र राजनीति, रास्वपाको भूमिका र संसद पुनःस्थापनाको सम्भावनालाई थप बल पुग्न सक्छ। यसले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता परम्परागत दलहरूलाई समेत दबाबमा पार्ने देखिएको छ।
बालेन शाहको राजीनामापछि काठमाडौँ महानगरपालिकाको नेतृत्व, आगामी राजनीतिक कदम र सम्भावित पार्टी प्रवेशबारे चासो बढ्दै गएको छ।