माघ ४, २०८२
मगर सचेतक कल्पना मगरले धर्म र संस्कृति परिवर्तनको विषयलाई लिएर कडा टिप्पणी गरेकी छन्। उनले धर्म र संस्कृति फेर्नु भनेको आफ्नै बाउ–आमा फेर्नु वा बेच्नु सरह भएको बताएकी छन्।एक सार्वजनिक कार्यक्रममा बोल्दै मगरले धर्म र संस्कृति कुनै व्यक्तिको निजी पहिचान मात्र नभई समाज, इतिहास र सभ्यतासँग जोडिएको साझा मूल्य भएको उल्लेख गरिन्। “धर्म र संस्कृति हाम्रो जरा हुन्। जरा काटेर रुख बाँच्न सक्दैन,” उनले भनिन्, “धर्म र संस्कृति फेर्नु भनेको आफ्नै अस्तित्व मेटाउनु जस्तै हो।”उनले पछिल्लो समय विभिन्न प्रभाव र लोभ–लालचका कारण समाजमा धर्म र सांस्कृतिक मूल्य कमजोर बनाउने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरिन्। यस्तो प्रवृत्तिले समाजलाई विभाजनतर्फ लैजाने र भावी पुस्तालाई दिशाहीन बनाउने खतरा रहेको उनको भनाइ थियो।कल्पना मगरले विशेष गरी युवाहरूलाई आफ्नो पहिचानप्रति सचेत रहन आग्रह गर्दै भनिन्, “हामी आधुनिक हुन सक्छौँ, तर मौलिकता गुमाउनु हुँदैन। धर्म र संस्कृति जोगाउनु भनेको हाम्रो इतिहास, पुर्खा र पहिचान जोगाउनु हो।”उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया देखिएको छ। धेरैले उनको भनाइलाई समर्थन गर्दै धर्म र संस्कृतिको संरक्षणमा गम्भीर बहस आवश्यक रहेको बताएका छन् भने केहीले व्यक्तिगत स्वतन्त्रताको सन्दर्भमा फरक मत पनि व्यक्त गरेका छन्।
मगर सचेतकका रूपमा परिचित कल्पना मगरले यसअघि पनि सामाजिक, सांस्कृतिक र पहिचानसम्बन्धी विषयमा स्पष्ट र निर्भीक धारणा राख्दै आएकी छन्।