पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस नेताहरू सर्वोच्च पुगे: आयोगको निर्णयविरुद्ध मुद्दा दर्ता

माघ ४, २०८२

सन्दिप मल्ल  काठमाडौँ –

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पार्टीका नेताहरू आज (शनिबार) सर्वोच्च अदालत पुगेका छन्। निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको निर्णयविरुद्ध मुद्दा दायर गर्न खड्कासहितको टोली अदालत पुगेको हो।नेता विमलेन्द्र निधिलगायत झण्डै दुई दर्जन केन्द्रीय सदस्य उक्त टोलीमा सहभागी थिए। निर्वाचन आयोगले माघ २ गते गगन थापा र विश्वप्रकाश शर्मा समूहलाई आधिकारिक काँग्रेसको मान्यता दिएको थियो।यसपछि हिजो बिहान पार्टी मुख्यालय सानेपामा बसेको देउवा खेमाको बैठकले आयोगको निर्णयविरुद्ध कानुनी कदम चाल्ने निर्णय गर्दै मुद्दासम्बन्धी सम्पूर्ण जिम्मेवारी कार्यवाहक सभापति खड्कालाई दिएको थियो।उक्त निर्णयअनुसार खड्काले आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। रिट दर्तापछि खड्काले मुख्य रजिष्ट्रार विमल पौडेलसँग यसलाई राजनीतिक मुद्दाका रूपमा नहेरी आजै सुनुवाइको व्यवस्था मिलाउन आग्रह गरे। तर सर्वोच्च प्रशासनले नियमावलीअनुसार रिट दर्ता भएकै दिन सुनुवाइ गर्न नमिल्ने स्पष्ट पारेको छ।खड्कासहित नेता विमलेन्द्र निधि र अन्य नेताहरू अदालत खुल्नेबित्तिकै रिट दर्ताका लागि सर्वोच्च पुगेका थिए। आयोगको निर्णयविरुद्ध कांग्रेसभित्र असन्तोष चर्किँदै गएको देखिएको छ।यसैबीच, काँग्रेसको भातृ संगठन तरुण दलले निर्वाचन आयोगको निर्णयविरुद्ध सडक प्रदर्शन सुरु गरेको छ। तरुण दलका कार्यकर्ताहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गर्दै नाराबाजी गरेका छन्। उनीहरूले ‘विशेष भेला मान्दैनौं’, ‘असंवैधानिक निर्णय खारेज गर’, ‘निर्वाचन आयोग निष्पक्ष बन’, ‘विधिको शासन मिच्न पाइँदैन’ जस्ता नाराहरू लगाउँदै आयोगको निर्णयप्रति कडा आपत्ति जनाएका छन्।

सम्पर्कमा रहनुहोस्