दार्जिलिङमा गायक प्रशान्त तामाङलाई अन्तिम श्रद्धाञ्जली: पुग्ने दुर्गा प्रसाई:
@सुनिल सिंह महत दार्जिलिङ —
नेपालका चर्चित मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाई भारतको दार्जिलिङ पुगेर दिवंगत गायक प्रशान्त तामाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। श्रद्धाञ्जली सभामा दार्जिलिङका प्रभावशाली नेता बिमल गुरुङ पनि उपस्थित थिए।संगीतमार्फत नेपाली समुदायलाई एकतामा बाँध्ने प्रशान्त तामाङको असामयिक निधनले नेपाल र भारत दुवै देशका नेपालीहरू शोकमा डुबेका बेला दुर्गा प्रसाईको उपस्थिति भावनात्मक रूपमा अर्थपूर्ण मानिएको छ। उनले श्रद्धाञ्जली अर्पण गर्दै प्रशान्त तामाङ नेपाली कला, संस्कृति र पहिचानका प्रतीक रहेको उल्लेख गरेका थिए।दार्जिलिङमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा कलाकार, राजनीतिक नेतृत्व, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। दुर्गा प्रसाईले सीमापारि रहेका नेपाली समुदायसँग आत्मीय सम्बन्ध कायम राख्दै दुःखको घडीमा साथ दिनु आफ्नो कर्तव्य भएको बताएका छन्।कार्यक्रममा उपस्थित बिमल गुरुङले प्रशान्त तामाङको योगदानको स्मरण गर्दै उनी सधैं नेपाली जनमनमा जीवित रहने बताएका थिए। दुर्गा प्रसाईको सक्रियता र जहाँ आवश्यक पर्छ त्यहाँ पुग्ने भूमिकालाई लिएर सामाजिक सञ्जालमा पनि सकारात्मक प्रतिक्रिया देखिएको छ।