सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति विपरीत कार्य गर्ने ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा
@ स्रोत नेपाल प्रहरी ,काठमाडौं,
नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति विपरीत गैरव्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५ सय ९९ जना प्रहरी कर्मचारीहरूलाई कारवाही गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटक लगायतका विभिन्न सामाजिक सञ्जालहरूमा संगठनविरूद्ध अमर्यादित टिप्पणी गर्ने एवम् प्रहरी पोषाकको दुरूपयोग गर्ने प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मलाई विभागीय कारवाही गरिएको हो । कारवाही पर्नेहरूमा प्रहरी नायब महानिरीक्षक १ जना, प्रहरी वरिष्ठ उपरीक्षक १ जना, प्रहरी उपरीक्षक ४ जना, प्रहरी नायब उपरीक्षक ५ जना, प्रहरी निरीक्षक २४ जना, प्रहरी वरिष्ठ नायब निरीक्षक ११ जना, प्रहरी नायब निरीक्षक २४ जना, प्रहरी सहायक निरीक्षक ५१ जना, प्रहरी वरिष्ठ हवल्दार ७ जना, प्रहरी हवल्दार ३५ जना, सहायक हवल्दार ७६ जना, प्रहरी जवान ३ सय ५८ जना र प्रहरी कार्यालय सहयोगी २ जना रहेका छन् । उनीहरूलाई संगठनको नीति विपरीत कार्य गरेकोमा सख्त चेतावनी, नसिहत देखि बढुवा रोक्का सम्मको कारवाही गरिएको छ । नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन मिति २०७१/०९/११ मा परिपत्र गरी सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने सम्बन्धी Guidelines लागु गरेको छ । साथै नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ एवम् प्रहरी प्रधान कार्यालयबाट विभिन्न मितिमा गरिएका परिपत्रहरुमा समेत प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालमा गैरव्यावसायिक र अमर्यादित आचरण प्रदर्शन हुनेगरी हातहतियार, पोषाक, सवारी साधन लगायत प्रहरी गतिविधिका भिडियो/फोटो अपलोड गर्न, टिकाटिप्पणी गर्न बन्देज गरिएको छ । यसैगरी सामाजिक सञ्जालको प्रयोग गर्दा प्रहरी कर्मचारीहरूले गोपनियता, शान्ति सुरक्षा, धार्मिक तथा साम्प्रदायिक गतिविधि लगायतमा खलल पुग्ने जस्ता कुनै पनि सामग्री पोष्ट, शेयर, लाइक या टिप्पणी गर्न हुदैन ।पछिल्लो समय नेपाल प्रहरीको सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति विपरीतका सामग्री हटाउन र कारवाहीको दायरामा ल्याउने कार्यलाई नेपाल प्रहरीले तीब्र बनाएको छ ।