मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर घाइते भएपछि अस्पताल भर्ना हुनुभएको छ । एक सय वर्ष पुगिसक्नुभएका महाथिरको दाहिने हिपमा फ्र्याक्चर भएको उहाँका सहयोगीले जानकारी दिएका छन् । सहयोगी सुफी युसोफका अनुसार महाथिरलाई मङ्गलबार बिहान होशमै क्वालालम्पुरस्थित नेसनल हार्ट इन्स्टिच्युटमा एम्बुलेन्समार्फत लगिएको थियो । प्रारम्भिक चिकित्सकीय परीक्षणपछि उहाँको दाहिने खुट्टामा हिप फ्र्याक्चर भएको पुष्टि गरिएको सुफीले बताउनुभयो । उहाँका अनुसार उपचार र चिकित्सकीय निगरानीका लागि महाथिर आगामी केही हप्तासम्म अस्पतालमै भर्ना रहने अपेक्षा गरिएको छ । बालकनीको एक भागबाट बैठक कोठातर्फ सर्ने क्रममा उहाँ लड्नुभएको सहयोगीले स्पष्ट गर्नुभयो । महाथिरले पछिल्ला वर्षहरूमा विभिन्न स्वास्थ्य समस्या भोग्दै आउनुभएको छ । गत जुलाईमा आफ्नो शताब्दी पूरा भएको अवसरमा आयोजित पिकनिक समारोहपछि अत्यधिक थकानका कारण पनि उहाँ अस्पताल भर्ना हुनुभएको थियो । यसअघि उहाँले मुटुसम्बन्धी समस्याका कारण बाइपास शल्यक्रिया पनि गराइसक्नुभएको छ । यस घटनापछि मलेसियाका वर्तमान प्रधानमन्त्री अनवर इब्राहिम र उहाँकी पत्नी वान अजिजा वान इस्माइलले महाथिरको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । प्रधानमन्त्री अनवरले सामाजिक सञ्जालमार्फत “अजिजा र म तुन महाथिरको स्वास्थ्य र शीघ्र निको हुने कामना गर्दछौँ, भगवानले चाहे”, भन्दै शुभेच्छा व्यक्त गर्नुभएको छ । महाथिर मोहम्मद मलेसियाको राजनीतिमा दीर्घकालीन प्रभाव राख्ने नेताका रूपमा चिनिनुहुन्छ । उहाँले सन् १९८१ देखि २००३ सम्म र फेरि २०१८ देखि २०२० सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । दोस्रो कार्यकालमा ९४ वर्षको उमेरमा उहाँ विश्वकै सबैभन्दा वृद्ध निर्वाचित सरकार प्रमुख बन्नुभएको थियो । –––
क्वालालम्पुर, २२ पुस (रासस÷एएफपी)