पुस ११, २०८२
फ्नोमपेन्ह/बैंकक — क्याम्बोडियाले विवादित सीमाक्षेत्रमा थाइल्यान्डले आक्रमण तीव्र बनाएको आरोप लगाउँदै दुवै देशबीच जारी शान्ति वार्ता असफल हुने जोखिम बढेको चेतावनी दिएको छ। पाँच दिनदेखि चलिरहेका वार्ताको उद्देश्य झडप रोक्नु थियो।सहयोगी निकायका तथ्याङ्कअनुसार, लामो समयदेखि जारी सीमा विवाद यस महिनामा पुनः भड्किँदा ४० भन्दा बढीको मृत्यु भइसकेको छ भने करिब १ लाख मानिस विस्थापित भएका छन्।शुक्रबार दुवै मुलुकका अधिकारीहरू सीमा नाकामा तेस्रो दिनको छलफलमा बसेका थिए। शनिबार दुबै देशका रक्षामन्त्रीहरूको पनि भेट तय भएको बताइएको छ।तर क्याम्बोडियाको रक्षा मन्त्रालयले दाबी गरेको छ कि शुक्रबार बिहान थाइल्यान्डी सेनाले बान्तेया मेन्चे प्रान्तको विवादित क्षेत्रमा एफ–१६ जेटमार्फत करिब ४० बम खसालेको हो।
उता थाइल्यान्डका सञ्चारमाध्यमहरूका अनुसार, क्याम्बोडियाली सेनाले रातिको समयमा साकाओ प्रान्त नजिक हमला गरेपछि केही घरहरुमा क्षति पुगेको छ।दुवै पक्षले आफूलाई आत्मरक्षामा रहेको दाबी गर्दै झडप सुरु गर्ने आरोप एक–अर्कामाथि लगाइरहेका छन्।यसअघि संयुक्त राज्य अमेरिका, चीन र मलेसियाको मध्यस्थतामा गत जुलाईमा आंशिक युद्धविराम भएको थियो, तर दीर्घकालीन रूपमा टिक्न सकेन।शुक्रबार क्याम्बोडियाका प्रधानमन्त्री हुन मानेटले सामाजिक सञ्जालमार्फत अमेरिकी विदेश सचिव मार्को रुबियोसँग फोन वार्ता भएको जनाउँदै, सीमा क्षेत्रमा युद्ध रोक्ने उपायबारे चर्चा भएको जानकारी गराए।विश्लेषकहरूको भनाइमा, यदि दुवै पक्षले चाँडै संयमता नअपनाए, त संघर्षले मानवीय संकट अझ गहिरिन सक्छ।