पुस ९, २०८२
नेपाली कांग्रेसभित्र पछिल्ला घटनाक्रमले फेरि आन्तरिक तनाव बढेको छ। भदौ २३–२४ काे घटनाबारे बनेकाे उच्चस्तरीय छानबिन आयोगले नेता रमेश लेखकलाई बयानका लागि बोलाएपछि पार्टीभित्र चर्चा तातिएको छ। लेखकले आयोगको प्रक्रियामा सहयोग गर्ने संकेत गरेका छन्।यससँगै, पार्टीमहाधिवेशन कहिले र कसरी गर्ने भन्ने विषयमा पनि नेताहरूबीच मतभेद चुलिएको छ। एक समूहले निर्धारित समयमा महाधिवेशन गर्नुपर्ने अडान लिँदै आएको छ भने अर्को समूहले राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै लचिलो हुनुपर्ने मत राखिरहेको छ।यहीबीच, विघटित प्रतिनिधिसभा पुनर्स्थापनाकाे पक्षमा चलिरहेको हस्ताक्षर अभियान कांग्रेसभित्र अर्को विवादको विषय बनेको छ। केही नेता तथा पूर्वसांसदहरू सर्वोच्च अदालतमा रिटसहित कदम चाल्न तयारीमा रहेका बेला, महामन्त्री गगन थापाले भने हस्ताक्षर नगर्न आग्रह गरेका छन्। उनकाे भनाइमा, वर्तमान राजनीतिक जटिलताकाे समाधान संसद पुनर्स्थापनामार्फत होइन, निर्वाचनमार्फत प्राप्त गर्नुपर्छ।पार्टीका शीर्ष नेताहरूले विवाद समाधानका लागि संवाद र सहमतिको प्रयास जारी राखेको बताइए पनि कार्यकर्ताबीच भने स्पष्ट र एकीकृत धारणा बनाउन कांग्रेसलाई चुनौती भइरहेको देखिन्छ।पछिल्ला दिनमा देखिएको गतिविधिले कांग्रेसभित्र नेतृत्व, मार्गरेखा र रणनीतिबारे पुनर्विचार गर्ने आवश्यकता थप प्रस्ट भएको विश्लेषकहरूको मूल्यांकन छ।