ओलीका पीए राजेश बज्राचार्य

पुस ३, २०८२

काठमाडौं:
दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा अनियमितता भएको निष्कर्षसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव (पीए) राजेश बज्राचार्यसँग सम्बन्धित विषयमा भ्रष्टाचार छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ।सिआइबीको अनुसन्धानअनुसार बज्राचार्यले यती समूहबाट बालकोटस्थित रोज भिलेज हाउजिङभित्रको अढाईतले घर घुसबापत लिएको हुन सक्ने देखिएको छ। उक्त घर १ साउन ०७५ मा बज्राचार्यकी श्रीमती रश्मि शाक्यको नाममा पास भएको देखिए पनि त्यसको भुक्तानीसम्बन्धी कुनै बैंकिङ कारोबार नदेखिएको सिआइबीको निष्कर्ष छ।सिआइबीका अनुसार सोही अवधिमा यती समूहको कम्पनी थामसेर्कु ट्रेकिङले दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिजमा पाएको थियो। त्यसबेला केपी शर्मा ओली प्रधानमन्त्री थिए र बज्राचार्य उनका स्वकीय सचिवको भूमिकामा थिए। लिज प्रक्रियामा नियम मिचिएको, क्षेत्रफलसमेत अस्वाभाविक रूपमा बढाइएको र राज्यलाई करिब ६ अर्ब २४ करोड रुपैयाँ नोक्सानी पुर्‍याइएको सिआइबीको निष्कर्ष छ।सिआइबीले दरबारमार्गको जग्गा लिज हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाइसकेको छ। सरकारी वकिल कार्यालयले संगठित अपराध, ठगी र आपराधिक विश्वासघात मुद्दा दायर गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ। यस प्रकरणमा नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की र थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ।घर खरिदसम्बन्धी विषयमा भने सिआइबीले भ्रष्टाचारको आशंका गर्दै अख्तियारमार्फत छुट्टै छानबिन गर्नुपर्ने राय दिएको छ। सिआइबीले तारा एयर, राजेश बज्राचार्य र रश्मि शाक्यका बैंक खाताको विवरण अध्ययन गर्दा घरजग्गा कारोबारसम्बन्धी कुनै आर्थिक लेनदेन नदेखिएको जनाएको छ।यसैबीच, रोज भिलेज हाउजिङको सम्बन्धित घरको सहकारी सेयर अझै यती एयरलाइन्सकै नाममा रहेको र लामो समयसम्म पानी तथा बिजुलीको बिलसमेत कम्पनीले नै तिरेको विवरण अनुसन्धानमा उल्लेख छ।जिल्ला सरकारी वकिल कार्यालयका अनुसार सिआइबीको प्रतिवेदन अध्ययनकै क्रममा रहेको छ र छिट्टै मुद्दा दायर गर्ने निर्णय हुने बताइएको छ। अख्तियारमार्फत थप छानबिन भएमा यस प्रकरणमा राजनीतिक तहसम्म अनुसन्धान विस्तार हुन सक्ने देखिएको छ।

सम्पर्कमा रहनुहोस्