संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठक : नीतिनिर्माणमा युवाको सहभागिता सुनिश्चित गर्न जोड

अशोज १०, २०८२

संयुक्त राष्ट्रसङ्घले हालै सम्पन्न एक उच्चस्तरीय बैठकमार्फत विश्वभरिका सरकारलाई युवाहरूलाई नीतिनिर्माणको केन्द्रमा राख्न आग्रह गरेको छ । उक्त बैठक विश्व युवा कार्ययोजना (डब्लुपे) को ३०औं वार्षिकोत्सवको अवसरमा आयोजित गरिएको हो ।“विश्व युवा कार्ययोजना ३० वर्षपछि पुस्ताबीचको सहकार्यबाट विश्वव्यापी प्रगति तिव्र पारौँ” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा विभिन्न राष्ट्रका नेता, सरकारी अधिकारी र युवाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। बैठक राष्ट्रसङ्घीय महासभाको ८०औं अधिवेशन अन्तर्गत न्युयोर्कस्थित मुख्यालयमा सम्पन्न भएको हो ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पठाउनुभएको सन्देशमा आजका युवाहरूले जलवायु संरक्षण, प्रविधिमा नवप्रवर्तन, स्थानीय समाधानको खोज तथा मानवअधिकारको संरक्षणमा अग्रणी भूमिका खेलेको उल्लेख गरिएको थियो । तर, उहाँले दुःख व्यक्त गर्दै भन्नुभयो, “युवाहरूलाई अझै पनि आफ्नै जीवनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरूबाट टाढा राखिने गरिएको छ ।”युवालाई निर्णय प्रक्रियामा बराबरीको साझेदारको रूपमा स्वीकार गरी, उनीहरूको विचार, ऊर्जा र नेतृत्व क्षमतालाई समुचित सम्मान दिनुपर्ने उहाँको जोड थियो ।युवाको चासो र चुनौतीलाई सम्बोधन गर्नुपर्छ राष्ट्रसङ्घीय महासभाका अध्यक्ष अनालेना बेयरबकले युवाहरूले आजभोलि भोगिरहेका प्रमुख चुनौती बारेमा गहिरो चिन्ता व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो, “जब केही नेताहरू जलवायु संकटलाई अस्वीकार गर्छन्, युवाहरूले नै अग्रसरता लिइरहेका छन्। यस्तो स्थितिमा पुस्ताबीचको ऐक्य र सहकार्य अत्यावश्यक छ ।” संयुक्त राष्ट्रसङ्घ युवा कार्यालयले अन्य साझेदार संस्थासँग सहकार्य गर्दै एक वैश्विक रणनीतिक परिकल्पना अभ्यास सञ्चालन गरेको थियो ।यस अभ्यासमा १८२ देशका करिब ७५ हजार युवाहरूले भाग लिएर आफ्ना अनुभव, चुनौती र आकांक्षाहरू प्रस्तुत गरेका थिए।युवा मामिलाका सहायक महासचिव फेलिपे पौलियरले भन्नुभयो, “विश्वभर १५ देखि ३५ वर्ष उमेर समूहमा रहेका २ अर्ब ३० करोडभन्दा बढी युवाहरूले हाम्रो भविष्य निर्माणमा बराबरीको भूमिका पाउनुपर्छ ।”

सम्पर्कमा रहनुहोस्