विज्ञान तथा प्रविधिको प्रतियोगितात्मक प्रदर्शनी
समय सूत्र @
मंसिर ११, २०८२
भक्तपुर, ११ मङ्सिरः मिड भ्याली कलेजले आजदेखि सुरु गरेको दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२ को आज एकैदिन पाँच हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेका छन् । मध्यपुरथिमिस्थित कलेज प्राङ्गणमा आयोजना भएको प्रदर्शनीमा भक्तपुरका ६० भन्दाबढी र काठमाडौँ, ललितपुर एवं काभ्रेपलाञ्चोकका गरी कूल ६७ वटा विद्यालयका विद्यार्थीद्वारा निर्मित विज्ञान तथा प्रविधिसम्बन्धी ९३ वटा उपकरण एवं सामग्रीहरू प्रदर्शनीमा राखिएका छन् । दुई दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा उपत्यकाका विभिन्न विद्यालयका १० हजारभन्दा बढी विद्यार्थीले अवलोकन गर्ने लक्ष्य राखिएको मिड भ्याली कलेजका निर्देशक कमल अर्यालले जानकारी दिनुभयो । प्रदर्शनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले विज्ञान र सूचना प्रविधितर्फको नवीनम् प्रयोगलाई जोड दिँदै निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम, सौर्य ऊर्जा, स्वास्थ्य, भवन निर्माणलगायत विभिन्न उपकरण एवं सामग्रीहरू प्रदर्शन गरिएको छ । विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धि र व्यावहारिक शिक्षालाई विशेष जोड दिने उद्देश्यले आयोजना गरेको प्रदर्शनीमा अवलोकनमा लागि उपत्यकका विभिन्न विद्यालयका विद्यार्थीको भीड बढेको बताउनुभयो । उहाँले प्रदर्शनीमा सहभागि विभिन्न विद्यालयका विद्यार्थीले कल्पनै नगरेका नव अन्वेषणमूलक सूचना प्रविधिका उपकरणहरु उत्पादन गरेको बताउनुभयो । कार्यक्रमका उद्घाटन गर्दै प्रा डा रामेश्वर अधिकारीले यसप्रकारको प्रदर्शनीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै विज्ञान तथा प्रविधितर्फको अन्वेषणमा उत्प्रेरणा जगाउन मद्दत पुग्ने बताउनुभयो । प्रदर्शनी अवलोकनमा सहभागी नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष एवं मदरल्याण्ड स्कुलका प्रिन्सिपल सञ्जय खड्काले यसप्रकारका प्रदर्शनीले विद्यार्थीलाई खोज तथा अनुसन्धानका लागि अभिप्रेरित गर्ने बताउँदै वातावरण संरक्षणमा टेवा पुग्ने बताउनुभयो । तीन वटा विद्यालयको टिम र एउटा सबैभन्दा बढी भोट पाउने टिमलाई पुरस्कृत गरिने भएको छ । सहभागी प्रत्येक टिमलाई रु छ हजार प्रदान गरेको कलेजले प्रदर्शनीमा प्रथम हुनेलाई टिमलाई रु ३० हजार, दोस्रोलाई रु २० हजार र तेस्रोलाई रु १० हजार पुरस्कार, शिल्ड तथा प्रमाणपत्र निर्देशक अर्यालले जानकारी दिनुभयो ।
राष्ट्रिय समाचार समिति (रासस)