नेतान्याहुको अमेरिकी भ्रमणअघि प्यालेस्टिनी राज्य मान्यताप्रति तीव्र आलोचना

अशोज ९, २०८२

जेरुसेलम, ९ असोज (रासस/एएफपी) : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार संयुक्त राज्य अमेरिकाको भ्रमणअघि प्यालेस्टिनी राज्यलाई मान्यता दिने पश्चिमी नेताहरूको आलोचना गर्नुभएको छ ।उहाँले वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने र शुक्रबार संयुक्त राष्ट्र महासभामा सम्बोधन गर्ने तयारी गर्नुभएको छ ।उहाँको टिप्पणी हालै फ्रान्सको नेतृत्वमा महासभाको साइडलाइनमा आयोजित विशेष शिखर सम्मेलनपछि आएको हो । उक्त सम्मेलनमा पश्चिमी सरकारहरूले झन्डै दुई वर्ष लामो गाजा युद्धको पृष्ठभूमिमा प्यालेस्टिनी राज्यलाई मान्यता दिएका थिए ।“महासभामा म हाम्रो सत्य बोल्नेछु—इजरायली नागरिक, सैनिक र राष्ट्रको सत्य । म ती नेताहरूको निन्दा गर्नेछु, जसले हत्यारा, बलात्कारी र बालबालिकालाई जलाउनेहरूलाई इजरायलको हृदयमै राज्य दिन चाहन्छन् । यस्तो कहिल्यै हुनेछैन”, नेतान्याहुले बेन गुरियन विमानस्थलमा प्रस्थानअघि भन्नुभयो ।बुधबार उहाँले बेलायत र फ्रान्ससहितका मान्यताहरूलाई ‘प्यालेस्टिनी आतङ्कवादप्रति केही नेताहरूको लाजमर्दो आत्मसमर्पण’ भन्नुभएको थियो र यसले इजरायललाई बाध्य नगर्ने बताउनुभएको थियो ।वासिङ्टनमा ट्रम्पसँग चौथोपटक भेट गर्ने बताउनुभएका नेतान्याहुले युद्धका लक्ष्यहरूबारे ‘हाम्रा सबै बन्धकहरूलाई फिर्ता ल्याउन, हमासलाई पराजित गर्न र शान्तिको दायरा विस्तार गर्न’ छलफल गर्ने बताउनुभयो । अमेरिकी दूत स्टिभ विटकफले ट्रम्पले अरब र इस्लामिक मुलुकहरूलाई ‘गाजासम्बन्धी २१–सूत्रीय शान्ति योजना’ प्रस्तुत गरेको बताउनुभयो । उहाँले विस्तृत विवरण नदिए पनि उक्त योजना इजरायल र क्षेत्रीय छिमेकीहरूको चिन्तालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।“हामी आशावादी छौँ र निकट भविष्यमा कुनै सफलता घोषणा गर्न सक्नेछौँ”, उहाँले महासभाको साइडलाइनमा भन्नुभयो ।यसैबीच, गाजामा इजरायली हवाई आक्रमणले बिहीबार कम्तीमा ११ जनाको ज्यान लिएको क्षेत्रीय नागरिक रक्षा प्रवक्ताले एएफपीलाई बताएका छन् ।हालैका हप्ताहरूमा इजरायली सेनाले गाजा सहरमा भूमि आक्रमण तीव्र पारेपछि लाखौँ मानिसलाई विस्थापित हुन बाध्य बनाएको छ ।

सम्पर्कमा रहनुहोस्