पेरिस अदालतले सार्कोजीमाथि गद्दाफीको अवैध अभियान वित्तपोषण मुद्दामा फैसला सुनाउँदै

अशोज ९, २०८२

पेरिस, ९ असोज (रासस/एपी) : पेरिसको अदालतले बिहीबार फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीमाथि सन् २००७ को राष्ट्रपति चुनाव अभियानमा तत्कालीन लिबियाली नेता मुअम्मर गद्दाफीको सरकारबाट अवैध आर्थिक सहयोग प्राप्त गरेको आरोपसम्बन्धी फैसला सुनाउँदैछ ।यदि दोषी ठहर भएमा ७० वर्षीय सार्कोजी अवैध विदेशी कोष स्वीकार गरी पद जित्ने पहिलो पूर्वराष्ट्रपति हुनुहुनेछ । उहाँले यस वर्षको सुरुआतमा तीन महिनासम्म चलेको सुनुवाइमा तीन पूर्वमन्त्रीसहितका ११ सह–प्रतिवादीहरूसँगै सबै आरोप अस्वीकार गर्नुभएको थियो ।धेरै कानूनी घोटालाले आफ्नो राजनीतिक विरासतलाई धुमिल बनाए पनि सार्कोजी गायक–मोडेल कार्ला ब्रुनीसँगको विवाहका कारण फ्रान्सको दक्षिणपन्थी राजनीति र मनोरञ्जन सर्कलमा अझै प्रभावशाली हुनुहुन्छ । दोषी ठहर भए पनि उहाँले अपिल गर्न सक्नुहुनेछ, जसले सजाय कार्यान्वयनलाई स्थगित गर्नेछ। अभियोजनकर्ताले सात वर्षसम्मको जेल सजाय माग गरेका छन् ।

– लिबियाली पैसाको दाबी –

लिबियाली सञ्चारमाध्यम र गद्दाफी आफैँले सार्कोजीको अभियानमा करोडौँ युरो गोप्य रूपमा खर्च गरेको दाबी गरेपछि यी आरोपको जरा सन् २०११ मा देखियो ।सन् २०१२ मा अनुसन्धानात्मक मिडियापार्टले पाँच करोड युरो कोष सम्झौतासम्बन्धी लिबियाली गुप्तचर मेमो प्रकाशित गर्‍यो । सार्कोजीले कागजातलाई नक्कली भन्दै मानहानि मुद्दा दायर गर्नुभयो तर फ्रान्सेली मजिस्ट्रेटहरूले यसलाई प्रामाणिक देखिने बताएका थिए ।अनुसन्धानमा सन् २००५ देखि सन् २००७ को बीचमा सार्कोजी गृहमन्त्री हुँदा उहाँका सहायकहरूसँग लिबियाली प्रतिनिधिहरूको भेटघाटलाई पनि जोडिएको थियो ।सन् २०१६ मा व्यापारी जियाद ताकिडाइनले त्रिपोलीबाट नगदले भरिएका सुटकेसहरू फ्रान्स ल्याएको बताएका थिए, तर पछि बयान फिर्ता लिए । यही घटनाले साक्षी छेडछाडसम्बन्धी छुट्टै अनुसन्धानलाई जन्म दियो । ताकिडाइनको मङ्गलबार बेरुतमा ७५ वर्षको उमेरमा निधन भएको छ ।

– मुद्दामा आरोप र प्रतिशोधको दाबी –

सार्कोजीलाई निष्क्रिय भ्रष्टाचार, अवैध अभियान वित्तपोषण, सार्वजनिक कोष दुरुपयोग लुकाउने र आपराधिक सङ्गठनसम्बन्धी आरोपमा मुद्दा चलाइएको हो । अभियोजनकर्ताले उहाँलाई गद्दाफी शासनसँगको ‘भ्रष्टाचार सम्झौता’ बाट फाइदा लिएको आरोप लगाएका छन् । गद्दाफीलाई सन् २०११ को विद्रोहमा अपदस्थ गरी मारिएको थियो । सार्कोजी त्यतिबेला लिबियामाथि सैन्य हस्तक्षेप गर्न दबाब दिने पहिलो पश्चिमी नेतामा पर्नुहुन्थ्यो । उहाँले यी सबै आरोपलाई ‘गद्दाफी कुल र झुट बोल्नेहरूद्वारा मञ्चित षड्यन्त्र’ भन्दै खारेज गर्नुभएको छ । उहाँका अनुसार गद्दाफीलाई हटाउन पहल गरेको प्रतिशोधस्वरूप आफूमाथि मुद्दा लगाइएको हो ।– अन्य कानूनी धक्कापछि –जुनमा अर्कै मुद्दामा दोषी ठहर भएपछि फ्रान्सको सर्वोच्च सम्मान ‘लिजन अफ अनर’ सार्कोजीबाट खोसिएको थियो ।यसअघि सन् २०१४ मा उहाँले घुस दिने प्रयास गरेको अभियोगमा दोषी ठहर भई एक वर्षको निगरानी सजाय पाउनुभएको थियो ।गत वर्ष भने असफल सन् २०१२ को पुनःनिर्वाचन अभियानमा खर्च सीमा नाघेको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको थियो । यसको आधा भाग निलम्बन गरिएको छ । उहाँले त्यो फैसलामाथि पनि सर्वोच्च अदालतमा अपिल गर्नुभएको छ ।

सम्पर्कमा रहनुहोस्