इरान–रुस समझदारी : साना आणविक रिएक्टर निर्माणका लागि एमओयुमा हस्ताक्षर

अशोज ९, २०८२

तेहरान, ९ असोज (रासस÷सिन्ह्वा) : इरान र रुसले बुधबार इरानमा साना मोड्युलर रिएक्टर (एसएमआर) निर्माणका लागि समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।यो समझदारीले दुई देशबीच आणविक उर्जाको शान्तिपूर्ण प्रयोग, दिगो विकास, ऊर्जा सुरक्षा र उन्नत प्रविधिको सुदृढीकरणलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ ।एमओयुमा हस्ताक्षर इरानको आणविक ऊर्जा सङ्गठन (एइओआई) का प्रमुख मोहम्मद एस्लामी र रुसको राज्य आणविक ऊर्जा निगम रोसाटमका प्रमुख अलेक्सी लिखाचेभबीच भएको हो । समझदारी पत्रमा दुवै पक्षले भविष्यमा एसएमआरमा आधारित आणविक ऊर्जा संयन्त्रको डिजाइन र निर्माणका लागि थप सम्झौता तयार गर्ने योजना पनि उल्लेख गरिएको छ ।एस्लामीको नेतृत्वमा एक प्रतिनिधिमण्डल सेप्टेम्बर २५ देखि २८ सम्म चल्ने विश्व आणविक सप्ताह फोरममा भाग लिन सोमबार मस्कोमा पुगेको थियो ।एस्लामीले भन्नुभयो, “तेहरान–मस्कोबीचको सम्झौताको ढाँचाभित्र रूसले इरानमा आठ आणविक ऊर्जा संयन्त्र निर्माण गर्ने अपेक्षा राखेको छ, जसमा दक्षिणी प्रान्त बुशहरमा चार संयन्त्र समावेश छन् ।”इरानले यस परियोजनाबाट २० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । एमओयुले दुवै देशलाई राष्ट्रिय नियम र अन्तर्राष्ट्रिय दायित्वको पालना गर्दै आणविक उर्जामा सहकार्य गर्न प्रेरित गर्नेछ ।यस समझदारीले इरानको उर्जा संरचना सुदृढ गर्ने र रुससँग प्राविधिक तथा रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।  

सम्पर्कमा रहनुहोस्